४० लाखभन्दा कम मूल्यमा एसयूभी किन्नेलाई यी हुन् ४ विकल्प

४० लाखभन्दा कम मूल्यमा एसयूभी किन्नेलाई यी हुन् ४ विकल्प

काठमाडौं । चाडपर्वको समयमा एसयूभी किन्ने सोच बनाउनु भएको छ भने ४० लाखभन्दा कम मूल्यमा पाउन सकिने एसयूभीको बारेमा थाहापाउन जरुरी हुन्छ । अहिले नेपालमा बिक्री हुँदै आएका ४० लाखभन्दा कम मूल्यका सब फोर मिटर एसयूभी हुन् ।

चार मिटरभन्दा छोटा एसयूभीलाई सब फोर मिटरको नामले चिनिन्छ । यो सेग्मेन्टमा टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, मारुती सुजुकी भिटारा ब्रेजा जस्ता मोडल बिक्री हुँदै आएका छन् ।

यी एसयूभी मध्ये कम्पनीले प्रकाशन गरेको अधिकतम खुद्रा मूल्यमा ब्रेजाको सुरुवाती मूल्य ४० लाखभन्दा धेरै रहेको छ । त्यसैले हामीले यहाँ ब्रेजालाई उल्लेख गरेका छैनौं ।

कम्पनीहरुले प्रकाशन गरेको मूल्यसूची अनुसार टाटा नेक्सन एक्सएम भेरियन्टको मूल्य ३८ लाख ५५ हजार रुपैयाँ रहेको छ भने, फोर्ड इकोस्पोर्ट एम्बिएन्टको मूल्य ३६ लाख ९० हजार रहेको छ ।

यहि सेग्मेन्टमा बिक्री हुने हुन्डाई भेन्यू एस भेरियन्टको मूल्य ३९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने, महिन्द्रा एक्सयूभी ३००, डब्ल्यू ४ भेरियन्टको मूल्य ३९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

इन्जिन र पावर

यी चार एसयूभीमा फरक फरक क्षमताको पेट्रोल इन्जिनको प्रयोग भएको छ । यी ४ मध्ये सबैभन्दा पावरफुल इन्जिन फोर्ड इकोस्पोर्टमा दिइएको छ । यसमा १.५ लिटर क्षमताको इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम १२२ पीएस पावर प्रदान गर्छ ।

त्यसैगरि टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० मा १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले समान ११० पीएस पावर प्रदान गर्छ । हुन्डाई भेन्यूमा रहेको १.२ लिटर कपा पेट्रोल इन्जिनले अधिकतम ८३ पीएस पावर प्रदान गर्छ ।

टर्कमा महिन्द्रा एक्सयूभी ३०० अगाडि रहेको छ । यसको इन्जिनले अधिकतम २०० एनएम टर्क प्रदान गर्छ भने टाटा नेक्सनले १७० एनएम, इकोस्पोर्टले १४९ एनएम र भेन्यूमा रहेको इन्जिनले ११५ एनएम टर्क प्रदान गर्छ ।

भेन्यू र इकोस्पोर्टमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ भने, नेक्सन र एक्सयूभी ३०० मा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

दशैं अफर

महिन्द्राले कुनै किसिमको दशैं अफर निकालेको छैन । तर, हुन्डाई, टाटा र फोर्डले दशैं स्कीम निकालेका छन् । यी कारमा कम्पनी अनुसार १ लाखदेखि ३ लाख ५० हजारसम्म नगद छुट दिएर बिक्री गर्दै आएका छन् ।

हुन्डाईले भेन्यूमा १ लाख ५० हजार नगद छुट, पक्का पाईने स्क्र्याच कार्ड मार्फत २० हजारदेखि १ लाखसम्मको छुट, एक वर्षको बीमा, एक आर्थिक वर्षको सवारी कर र स्वास्थ्यकर्मीलाई २५ हजार बराबरको सर्भिस भौचर प्रदान गर्ने जनाएको छ ।

त्यसैगरि टाटाले आफ्नो नेक्सनमा ३ लाख ५० हजारसम्मको नगद छुट, एक्सचेन्ज बोनस लगायतको सुविधा दिने जनाएको छ । साथै, ग्राहकले एक वर्षको सवारी कर पनि पाउने छन् ।

फोर्ड इकोस्पोर्टमा कम्पनीले ७५ हजार नगद छुट दिएको छ भने कम्तीमा २५ हजार पक्का पर्ने ३ वटा स्क्र्याच कार्ड ग्राहकले पाउने छन् । यसरी हेर्दा इकोस्पोर्टमा १ लाख ५० हजार नगद छुट ग्राहकले पाउँछन् । कम्पनीले यसको अलावा एक वर्षको बीमा र एक आर्थिक वर्षको सवारी कर तिरिदिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *