‘कोरोनाको भन्दा मल नपाइएला भन्ने धेरै डर’

‘कोरोनाको भन्दा मल नपाइएला भन्ने धेरै डर’

गोरखा, १४ साउन । गोरखाका कृषि सहकारीमा मल किन्ने किसानको भीड लाग्न थालेको छ। सिजनमा मल नपाएका पीडित किसान मल आउन थालेपछि कोरोना फैलने डरत्रासको पर्वाह नगरी सहकारीमा भीड लाग्ने गरेको उपभोक्ता किसान स्वयंको भनाइ छ।

मल नपाएर छटपटाएका किसानको शनिबार मल आएको सुन्ने बित्तिकै सहकारीमा भीड लागेको पालुङ्टारका हरि देवकोटाले जानकारी दिए। ‘केको कोरोना, केको सामाजिक दूरी। न सबैले मास्क लगाएका छन्, न सेनिटाइजरको व्यवस्था छ। पालुङ्टार कृषि सहकारी संस्थाको कार्यालयमा घचेडाघचेड, ठेलाम्ठेल थियो’, उनले भने, ‘अहिले धमाधम धान पोटाउने बेला भएको छ। मल चाहिने मुख्य बेला यही हो। सबैलाई मल चाहिएको छ। यस्तो बेलामा कोरोनाको डर भन्दा मल नपाइएला भन्ने डर धेरै भयो।’

सहकारी संस्था, नगरपालिका कार्यालय, कृषि शाखा, स्थानीय प्रहरी इकाइ कुने पनि निकायले मल वितरण व्यवस्थित बनाउन पहल नगरेको उनले गुनासो गरे। ‘हिजो (शुक्रबार) मल आयो। शनिबार बिहानदेखि वितरण गर्ने भन्ने सबैलाई थाहा थियो’, उनले भने, ‘मल वितरणमा भीड लाग्छ भन्ने पनि सबै निकायलाई थाहा छ तर कसैले पनि भीड व्यवस्थित बनाउने प्रयास गरेनन्।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *