उद्योग-व्यवसाय बन्द हुँदा श्रमिकहरूकाे कष्टकर दैनिकीप्रति दु:खित छु : प्रधानमन्त्री

उद्योग-व्यवसाय बन्द हुँदा श्रमिकहरूकाे कष्टकर दैनिकीप्रति दु:खित छु : प्रधानमन्त्री

काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लकडाउनका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेर मुलुकभित्र कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर दैनिकीप्रति आफू दु:खित रहेकाे बताउनुभएकाे छ ।

उहाँले बितेका १३१ वर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएकाे स्मरण गर्दै भन्नुभएकाे छ, ‘यस दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो । श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ ।’

पछिल्ला केही वर्षयता नेपालमा पनि नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा मे दिवस मनाउँदै अएकाे बताउँदै उहाँले हरेक बर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरुको चर्चा गर्ने र गर्न बाँकी कामहरुलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ रहेकाे बताउनुभएकाे छ ।

अहिले विश्वभरि कोरोना भाइरसकाे महामारीका कारण नेपालमा पनि उत्पादन प्रणालीको कडी टुटेको बताउँदै उहाँले भन्नुभएकाे छ, ‘हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।’

‘अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु परेको बाध्यता हाम्रा अगाडि छ,’ उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाईजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *