‘दबंग ३’ को दुई दिने कमाई ५० करोड आसपास

‘दबंग ३’ को दुई दिने कमाई ५० करोड आसपास

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा छाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको दोस्रो दिनको कमाई पनि सार्वजनिक भएको छ । पहिलो दिनको तुलनामा फिल्मले दोस्रो दिन २५ लाख बढी कमाएको छ । पहिलो दिन फिल्मले २४ करोड ५० लाख छापेको थियो । दोस्रो दिन २४ करोड ७५ लाख कमाएको छ । दुई दिनमा ४९ करोड २५ लाख कमाउन सफल भएको ‘दबंग ३’ ले प्रदर्शनको पहिलो दिन ४० करोडभन्दा कमाई गर्ने अनुमान गरिएको थियो । अहिले भारतका विभिन्न स्थानमा नागरिकता संशोधन एक्टको विरुद्धमा प्रदर्शन चलिरहेका कारण त्यसको असर फिल्मको व्यापारमा परेको छ । दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त यो फिल्मका निर्देशक प्रभु देवा हुन् ।

फिल्मको कहानी सलमान खान (चुलबुल पान्डे), सुदीप किच्चा (बाली), सोनाक्षी सिन्हा (रज्जो-चुलबुल पान्डेकी पत्नी), सई मान्जरेकर (खुशी), डिम्पल कपाडिया (चुलबुलकी आमा), अरबाज खान मक्खी (चुलबुल पान्डेका भाई) भूमिकामा बेस्ड छ, जहाँ चुलबुल पान्डेको सुरुवाती जिन्दगीको कहानीलाई निकै रोचक ढंगबाट देखाइएको छ । फिल्ममा एक्सन जबरजस्त छ । १ सय ५९ मिनेट लामो यो फिल्म शनिबारबाट ९ मिनेट ४० सेकेण्ड कम गरिएको बताइएको छ । तर, फिल्मको कुन सिक्वेन्स हटाइएको हो, त्यो भने खुलाइएको छैन । यसअघि फिल्मको ‘हुड हुड दबंग’ गीतलाई लिएर विवाद भएको थियो । गीतको ब्याकग्राउन्डमा साधुलाई नचाइएको थियो । गीतलाई लिएर चर्को विवाद भएपछि गीतबाट उक्त सिन हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *